खो–खो विश्वकपमा नेपाल उपविजेता

काठमाडौँ । नेपाललाई हराउँदै भारतले महिलातर्फको खो–खो विश्वकपको उपाधि जितेको छ ।
नयाँ दिल्लीको इन्दिरा गान्धी इन्डोर स्टेडियममा आइतबार भएको खेलमा नेपाललाई ७८–४० अंकले हराउँदै भारतीय महिला टोलीले पहिलो पटक खो खो विश्वकपको उपाधि जितेको हो ।
महिलातर्फ नेपाल र भारत दुवै अपराजित रहँदै फाइनल पुगेका थिए । दुई अपराजित टिमबिचको फाइनल भिडन्तमा भारतले बाजी मारेको हो ।
महिलातर्फ नेपाल समूह सी मा सबै चार खेल जित्दै अपराजित रहेर समूह सी को विजेताको रूपमा क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।
नेपालले समूहमा पहिलो खेलमा भुटानलाई ९३–२४ ले, दोस्रो खेलमा जर्मनीलाई ७३–३४ ले, तेस्रो खेलमा श्रीलङ्कालाई ११०–१० ले र चौथो खेलमा बंगलादेशलाई ८४–२४ ले पराजित गरेको थियो ।