हिमालयन तेक्वान्दो ह्यारिसबर्गका खेलाडीले आफ्नो प्रशंसा गर्दा अभिभावकले पुछे आँशु

बिष्णु हरि घिमिरे
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनियामा नेपाली भाषीले स्थापना गरेको पहिलो तेक्वान्दो स्कुल हिमालयन तेक्वान्दो ह्यारिसबर्गमा शनिवारको दिउसोको माहौल नियमित भन्दा अलिक फरक थियो।
हिमालयन तेक्वान्दोका मुख्य प्रशिक्षक नकुल शर्मा र उनीकी जीवन सङ्गिनी तथा प्रशिक्षक पुनम दुलाल कार्यक्रममा निम्त्याइएकाहरुको स्वागतका लागि व्यस्त थिए।
सामान्य अवस्थामा दिनको चार बजेको समय नियमित प्रशिक्षणको थियो। आम मान्छेको बुझाइमा मार्शल आर्ट खेल भनेको एकले अर्कोलाई कुट्ने खेल भन्ने बुझाइछ। स्वयम मार्शल आर्टका अभियन्ताहरू पनि आत्मरक्षाका लागि यो खेल उपयुक्त भन्दै सिफारिस गर्ने गर्दछन्।
हिमालयन तेक्वान्दो ह्यारिसबर्गका खेलाडीले खेलमा के कस्तो सिके अघिल्लो महिना सम्पन्न अन्तर विद्यालय प्रतियोगितामा हेरेकै हो। पङ्क्तिकारलाई पनि लागेको थियो प्रतियोगितामा विजेता खेलाडीहरू र अभिभावकले आपसमा खुसी साट्ने नियमित जस्तै शनिवारको कार्यक्रम हो। विजेतालाई घरमा स्वागत र सम्मान गर्ने चलन नै छ।
तर जब कार्यक्रम शुरु भयो, शरीरमा काँडाहरू उम्रिन थाले। त्यो एउटा कुनै तेक्वान्दो खेलाडीको कार्यक्रम हुँदै होइन, कता-कता यो वक्तृत्व कला हो जस्तो लाग्ने। अझ भनौँ न कुनै साहित्यिक कार्यक्रम जस्तो। धुरन्धर वक्ताहरूले आफ्नो विचार दिइरहेका छन् भने जस्तो।
तेक्वान्दोको सामान्य प्रदर्शनी पछि प्रशिक्षक पुनम दुलालले खेलाडीहरूलाई आफ्ना बाबु आमाका बारेमा बोल्न भन्दै खेलाडी विद्यार्थीहरूलाई स्टेजमा बोलाइन। वक्ताहरू प्रायशः १२-१३ वर्ष भन्दा कम उमेरका थिए। उनीहरू पालै पालो स्टेजमा आए। कतिले लेखेर ल्याएको पढे । अझ कतिले हेर्दै नहेरी बोले।

यहाँ चकित पार्ने कुरा के थियो भने, पोडियममा पुग्दा पाका मान्छे पनि अलमलमा पर्छन्। बोल्न खोजेका कुरा भुल्छन्। तर यी कलिला बालबालिकाहरूले आत्मविश्वास गजब थियो। मञ्चमा बोल्दा बोल्दा तिखारिएका नियमित वक्ताहरू जस्ता। उनीहरूको अनुहार भाव नियमित जस्तै थियो। २० जना बालबालिकाले एक देखि दुई मिनेट सम्म धाराप्रवाह आफ्ना अभिभावकको बारेमा बोले।
ती बालबालिकाहरूको आत्मविश्वास देखेर अतिथि दीर्घामा रहेका प्राध्यापक माधव शर्मा, लेखक डा. नारद पोखरेल लगायत छक्क परेको प्रतिक्रिया दिँदै थिए।
‘म पहिलो पटक यस्तो कार्यक्रममा सहभागी भए, यी साना नानीहरूको आत्मविश्वास देखेर म छक्क छु।’ शर्माले भने, ‘वहाँ कस्तो राम्रो कन्फिडेन्स’।
लेखक नारद पोखरेलले पनि बालबालिकाहरूको आत्मविश्वासको प्रशंसा गरे।
बालबालिकाले कसरी बोले उनको शैली कस्तो थियो, बोल्दाको हाउभाउ कस्तो थियो त्यसले अतिथिको ध्यान तानेको थियो। तर उनीहरुले के बोले त्यसले अभिभावको मन छोयो। केही अभिभावकले आँसु लुकाउन सकेनन्।
अमेरिकामा रहेका धेरै आप्रवासी अभिभावको दुखेसो हुन्छ, आफ्ना सन्ततिले आफ्नो जरा बिर्सँदै छन्। अहिलेका बालबालिकाले बाबु आमाको दुख बुझ्दैनन्। तर शनिवारको कार्यक्रममा माहौल फरक थियो।
आफूलाई हुर्काउन आफ्ना बाबु आमाले के के भोगे भन्ने कुरामा बालबालिका केन्द्रित थिए। आप्रवासी अभिभावकको संघर्ष प्रति जब आफ्ना सन्ततिले कुनै मञ्चमा बोले त्यस पछि आँसु नपुछी सुखै पाएनन्।

तेक्वान्दो सिक्दै गरेका बालबालिकाको हलको स्टेजमा उभिएर बोल्ने शैली, नम्रता र उनीहरुले आफ्ना अभिभावक प्रति देखाएको स्नेह, चयन गरेको शब्दले अभिभावकहरूलाई पनि स्टेजमा आउन बाध्य तुल्यायो।
बालबालिका पछि उनका अभिभावक स्टेजमा आए, जो जो आएर बोले सबैले नकुल र पुनको जोडीलाई धन्यवाद दिए। सबै अभिभावकको भनाई थियो हिमालयन तेक्वान्दोले हाम्रा बालबालिकालाई राम्रो गरेको छ।
भुट्नीज कम्युनिटी ह्यारिसबर्ग (बीसीएच) का कार्यकारिणी निर्देशन तेज मिश्र अलिक पहिला निस्किए।
तर अतिथि दीर्घामा दुई घण्टा धैर्य गरेर बसेका पेन्सिल्भेनियाका लागि रेफ्युजी सेटलमेन्ट कार्यक्रममा निर्देशक तथा प्राध्यापक माधव शर्मा, लेखक डा. नारद पोखरेल, सब्जी बजारका संचालक अशोक उप्रेती, फ्यामेली तथा एड्ल नर्स प्राक्टिसनर सोम तिमसिना, नमस्ते फार्मेसीका डा. मनोज प्रधान, आइरन भ्याली/ रियाल्टर पदम खनाल, त्रिवेणी साहित्य मञ्चका अध्यक्ष केशव घिमिरे र सचिव नारद आचार्यले तेक्वान्दो सिक्दै गरेका बालबालिकाहरूमा अर्को प्रतिभा पनि रहेको भेटे।
‘तेक्वान्दो खेल मात्र होइन, यो जीवनको एक अभिन्न अङ्ग हो, यसले बालबालिकामा आत्मविश्वास र अनुशासन पनि सिकाउँछ भन्ने हाम्रो लक्ष्य हो।’ प्रमुख प्रशिक्षक नकुलले भने,’हामी बालबालिकालाई जीवन के हो भन्ने पनि उनीहरुले बोझ नहुने गरी सिकाउँछौ। अभिभावक, परिवार र समाज प्रतिको दायित्वबारेमा पनि हामी बुझाउने प्रायशः गर्छौ। ‘
‘आत्म विश्वास र अनुशासन तेक्वान्दो खेल सँग सँगै लैजाने रणनीति हो।’ उनले आफ्नो स्कुलको विशेषता माथि प्रस्टाए।
नकुलले अरूको प्रशंसा गर्नु पर्छ भन्ने कुरा पनि व्यवहारमा देखाए। वर्षको प्रशंसा खेलाडी पुरस्कार सुसन मगर र सुवर्णा शर्मालाई दिइयो। ‘उनीहरू आफै अनुशासित छन् र स्कुलका अरू विद्यार्थीलाई सिप सिकाउन पनि सहयोगी हुँदै आएका छन्।‘ दुई खेलाडीको सम्मान बारे प्रशिक्षक नकुलले प्रस्टाए।
कार्यक्रममा अभिभावक खगेन चापागाईँलाई पनि सम्मान गरियो। र ग्रेटर ह्यारिसबर्गमा हिमालय तेक्वान्दो खोल्न मद्दत गर्ने र प्रेरित गर्ने सुवास शर्मालाई विषेश सम्मान प्रदान गरियो।
‘सुवासजीले सन् २०१८ मा हामीलाई तेक्वान्दो स्कुल खोल्न आवश्यक सबै सहयोग गर्नु भएको थियो र अहिले पनि सहयोग पाइरहेका छौ।‘नकुलले भने, ‘ आफूलाई सहयोग गर्ने व्यक्तिको सम्मान गर्नु पर्छ भन्ने खेलाडी विद्यार्थीलाई सन्देश पनि हो यो।’

तेक्वादो खेलाडी, अभिभावक र अतिथिको भनाई सकिए पछि, हरेक विद्यार्थीलाई आफ्ना अभिभावकलाई रातो गुलाब दिएर सम्मान गर्न लगाइएको थियो। त्यस पछि सामुहिक रात्री भोज ।
कार्यक्रममा थप तस्बिरहरु :