ह्यारिसबर्गमा ग्लोबल तेक्वान्दो एकेडेमी दोस्रो अन्तर विद्यालय प्रतियोगिता सम्पन्न

ह्यारिसबर्ग,पेन्सिल्भेनिया/ ग्लोबल तेक्वान्दो एकेडेमी दोस्रो अन्तर विद्यालय प्रतियोगिता शनिवार अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्गमा सम्पन्न भएको छ।
डेरी स्ट्रिटमा सम्पन्न एक दिने प्रतियोगितामा पेन्सिल्भेनिया, केन्टकी र ओहायोका गरी आठ स्कुलका ९६ खेलाडीले भाग लिएका थिए।
पेन्सिल्भेनियाबाट आयोजक ग्लोबल तेक्वान्दो एकेडेमी ह्यारिसबर्ग, हिङ्गमाङ्ग तेक्वान्दो, युनाइटेड एभरेष्ट तेक्वान्दो, रेड ओशन, थर्ड आइ तेक्वान्दो केन्टकी, ओहायोका सनसाइन तेक्वान्दो एक्रोन, कोलम्बस र रेनोसबर्गका खेलाडीले प्रतियोगितामा भाग लिएका थिए।
सहभागी खेलाडीलाई पुम्से र स्पाइरिङ्ग दुवै तर्फ प्रतिस्पर्धा गराइएको थियो।

‘यस पटक पनि हामीले टिम च्याम्पियन भनेर घोषण गरेनौ तर हिङ्गमाङ्ग तेक्वान्दो मेकानिसबर्गका खेलाडीले सबै भन्दा धेरै पदक जितेका छन्।’ आयोजक ग्लोबल तेक्वान्दो एकेडेमीका संचालक तथा मुख्य प्रशिक्षक प्रकाश ढुङ्गानाले प्रतियोगिता पछि समाज टाइम्स सँग भने।
प्रशिक्षक ढुङ्गानाले प्रतियोगिता हार जित भन्दा पनि नयाँ खेलाडीको आत्मविश्वास बढाउनका लागि खेलाइएको बताए।
‘यो प्रतियोगिता पनि प्रशिक्षणको एउटा पाटो हो, ठुला प्रतियोगितामा चुनौती दिनु अगाडिको तयारी।’ प्रशिक्षक ढुङ्गानाले भने, ’यस्ता प्रतियोगिताले नयाँ खेलाडीको आत्मविश्वास बढाउँछ।‘
‘भविष्यका च्याम्पियनहरूका लागि पहिलो खुड्किलो हो यो।’ उनले भने।
ढुङ्गानाले अघिल्लो वर्षको तुलनामा यस पटकको प्रतियोगिता भव्य सफल भएको बताए। ‘पहिलो पटक प्रतियोगिता आयोजन गर्दा भन्दा यस पटक हामी अझ व्यवस्थित भयौ, सहभागी स्कुल र खेलाडीको संख्या पनि धेरै भयो, हामी हाम्रो गन्तव्य तर्फ लम्कँदै छौ।’

तेक्वान्दो ग्राण्ड मास्टर एचके लीको प्रमुख आतिथ्यमा भएको प्रतियोगिताको उद्घाटनमा विभिन्न क्षेत्रका जनप्रतिनिधिशरुले शुभ काम दिएका थिए।
उद्घाटन समारोहमा पेन्सिलभेनिया प्रतिनिधि सभा सदस्य डेभ म्याडसेन, सुस्केहाना टाउनशिप कमिश्नर फ्रेड फेलोना, भुट्नीज कम्युनिटी ह्यारिसबर्ग (बीसीएच) का कार्यकारी निर्देशक तेज मिश्र, तेक्वान्दो मास्टर कुमार कार्की लतायताले प्रतियोगिताको सफलताको शुभ कामना दिएका थिए।
सोही अवसरमा बीसीएचको तर्फबाट ग्राण्डमास्टर एचके ली, मास्टर कुमार कार्की र मास्टर कौशिल्या खनाललाई सम्मान गरिएको थियो।
प्रतियोगिताका थप तस्बिरहरु