मुस्ताङको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत

सन्तोष गौतम
मुस्ताङ/ ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत भएको छ। माटोको प्रयोग गरेर आठौँ शताब्दीमा निर्माण भएका संरचनाहरू भत्किएर नासिन थालेका हुन।
यो मुस्ताङको सदरमुकाम जोमसोम बजार अवस्थित घरपझोङ गाउँपालिकाको वडा नं. ५ मा रहेको छ । बौद्ध परम्पराको प्रवेश हुनु अघि अस्तित्वमा रहेको शे–रिव नामको स्थानीय राज्यको केन्द्र ठिनी नजिकैको गारावजोङ (घरपझोङ) किल्ला मुस्ताङको ऐतिहासिक स्थल हो ।
घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिङ लालचनका अनुसार किल्लामा पहिले राजा ठोकरचेनले शासन चलाउने गरेको मुस्ताङ जिल्लाको ऐतिहासिक दस्ताबेजहरूमा उल्लेख छ ।
किल्लामा भवन र घरका भग्नावशेष अझै छन् । सोही किल्ला भएको ठाउँमा पहिले मानव बस्ती थियो । डाँडामा रहेको उक्त बस्ती सरेर थाक पाँच गाउँको रूपमा स्याङ, ठिनी, मार्फा, छैरो र चिमाङ बनेको इतिहास छ ।
आठौँ शताब्दीमा निर्माण भएका भौतिक संरचनाका घरपझोङ किल्लाको इतिहासको साक्षीका रूपमा रहेका छन् । यही ऐतिहासिक महत्त्व बोकेको क्षेत्रको नामबाट घरपझोङ गाउँपालिका नामकरण भएको हो । जीर्ण बनेका संरचनाहरूलाई संरक्षण गर्न सकेमा भावी पुस्तालाई इतिहासका रूपमा बुझाउन र पर्यटकलाई आकर्षित गर्न सक्ने सम्भावना छ ।
ठिनी गाउँ देखि सवारी साधनमा पाँच मिनेटमा पुगिने ठिनी खोला देखि थप १० मिनेट उकालो पैदल यात्रा गरेर पुगिने घरपझोङमा धुम्बा ताल तर्फबाट जाने सडक र पैदल मार्ग पनि छ । घरपझोङ गाउँपालिकाले ठिनी खोला देखि किल्ला सम्म पुग्ने पदमार्ग र सडक बनाएको छ ।
स्थानीयवासीले घरपझोङ किल्लामा सानो गुम्बा पनि बनाएका छन् । घरपझोङ गाउँपालिकाले घरपझोङ किल्लाको संरक्षण, पूर्वाधार निर्माण र पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न गुरुयोजना निर्माणका लागि चालु आर्थिक वर्ष २०८१÷०८२ मा रु. दश लाख विनियोजन गरेको छ ।
अग्लो स्थानमा रहेको घरपझोङ किल्लाबाट जोमसोम, ठिनी, स्याङ, मार्फा गाउँको बस्ती, धुम्बा ताल, नागबेली परेर बगेको काली गण्डकी, ठिनी खोला, निलगिरी र धौलागिरि हिमालको दृश्य अवलोकन गर्न सकिन्छ ।
रासस