संविधानमा तोके बाहेक कुनै पनि अतिरिक्त सर्तहरू अस्वीकार्य

ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाका अध्यक्ष डा. अर्जुन बञ्जाडेले गैर आवासीय नागरिकताका सन्दर्भमा संविधानले तोके बाहेकका थप सर्तहरू अस्वीकार्य हुने बताएका छन्।
नेपाल सरकारले अध्यादेश जारी गरेको तेस्रो दिन बञ्जाडेले आफ्ना सदस्यहरूलाई पठाएको मास इमेलमा सो कुरा उल्लेख गरेका छन्।
‘एनआरएन नागरिकता अधिकारको पूर्ण कार्यान्वयन सुनिश्चित गर्ने’ गर्ने शीर्षक रहेको इमेलमा भनिएको छ,’एनआरएन एनसीसी अमेरिका गैर-आवासीय नेपाली नागरिकता धारण गर्ने व्यक्तिहरूलाई १० वर्षसम्मको लागि निःशुल्क भिसाको व्यवस्था गर्ने सम्बन्धमा नेपाल सरकारले हालै गरेको घोषणाप्रति गहिरो चिन्तित छ।‘
अध्यक्ष बञ्जाडेले अध्यादेशले गैर आवासीय नेपाली नागरिकताको सार माथि नै प्रश्न उठेको भनेका छन्।
‘हामी यस प्रावधानको पछाडिको उद्देश्यलाई स्वीकार गर्छौँ, तर यसले एनआरएन नागरिकताको सारमाथि नै गम्भीर प्रश्न उठाएको छ।‘ डा. बञ्जाडेले अगाडि लेखेका छन्, ‘नागरिकता पहिचान र अधिकारको आधारभूत प्रतीक हो, र नागरिकहरूको लागि भिसा आवश्यकताहरू लागू गर्नु नेपालको संवैधानिक प्रावधानको भावना विपरीत छ।‘
उनले नेपालको संविधानले गैर आवासीय नेपाली नागरिकताको लागि ढाँचा स्पष्ट रूपमा रूपरेखा गरेको भन्दै गैर-आवासीय नेपालीहरूलाई राजनीतिक अधिकार बाहेक सबै अधिकार र विशेषाधिकार प्रदान गर्दछ भनेका छन् ।
‘एनआरएन एनसीसी अमेरिका दृढ विश्वास गर्दछ कि गैर आवासीय नेपाली नागरिकता संविधानमा स्पष्ट रूपमा उल्लेख गरिएका बाहेक कुनै पनि अतिरिक्त प्रतिबन्ध वा सर्तहरू बिना लागू गरिनुपर्छ।‘आफ्ना सदस्यहरूलाई प्रेषित इमेलमा डा. बञ्जाडेले उल्लेख गरेका छन्।
अध्यादेशको सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेको विदेश स्थित भातृ संस्थाहरूले यस अगाडी नै विरोध गरेका थिए।