महाकुम्भमा एक करोड भक्तजनको ऐतिहासिक स्नान

लखनऊ / बहुप्रतीक्षित सन् २०२५ महाकुम्भ सुरु भएसँगै दुई नदीहरूको सङ्गम गङ्गा र यमुनामा पवित्र स्नान गर्न भक्तहरू भेला भएका छन् ।
उत्तर प्रदेशका प्रहरी महानिदेशक (डीजीपी) प्रशान्त कुमारले करिब एक करोड मानिसहरूले पवित्र सङ्गममा स्नान गरेको बताए। “अहिलेसम्म करिब एक करोड भक्तहरूले सङ्गम क्षेत्रमा पहिलो दिनमा ‘अमृत स्नान’ गरेका छन् ।”
सङ्गममा भक्तजनको चहलपहल जारी रहेकाले प्रहरी तैनाथ रहेको र प्रहरी प्रशासनले ड्रोनबाट अनुगमन गरिरहेको उनले बताए। डीजीपीले कुनै पनि दुर्घटनाको बारेमा कुनै जानकारी रिपोर्ट हालसम्म गरिएको छैन।
“सङ्गममा भक्तजनको घुइँचो जारी छ, त्यहाँ प्रहरीको उपस्थिति छ, ड्रोनको निगरानी पनि भइरहेको छ साथै सुरक्षाका लागि अन्डरवाटर ड्रोनको पनि प्रयोग गरिएको छ । अहिलेसम्म प्रयागराज क्षेत्रमा कुनै अप्रिय घटना घटेको छैन । राज्यका सबै वरिष्ठ अधिकारी र सीएमओ कार्यालयले स्थितिलाई निगरानी गरिरहेका छन्,” डीजीपी कुमारले बताए ।
“सडकबाट आउने भक्तजनका लागि यातायात विभागले गरेको सबै व्यवस्था पनि सुचारु रूपमा चलिरहेको छ । प्रयागराज जाने सबै सडकमा सवारी आवागमनमा कुनै अवरोध छैन । आजको व्यवस्थामा देखिएका कमजोरीलाई भोलिका लागि सुधार गरी काम गरिने छ,” उनले थपे ।
विश्वको सबैभन्दा ठूलो धार्मिक कार्यक्रम महाकुम्भ सन् २०२५ औपचारिक रूपमा प्रयागराजमा सुरु भएको छ।
गङ्गा, यमुना र सरस्वती नदीको पवित्र सङ्गमस्थल त्रिवेणी सङ्गममा हजारौं भक्तजन यसअघि नै स्नानमा सहभागी भइसकेका छन् । सरकारले उक्त कार्यक्रमको तयारीलाई व्यवस्थित बनाएको छ । मेला क्षेत्रमा १५ हजार सरसफाइ कार्यकर्ता, २५ सय गङ्गा सेवा दूत (स्वयंसेवक) मुख्य व्यवस्थाहरू रहेका छन् ।
राज्य सरकारले ६९ हजार एलईडी बत्ती स्थापना गरेको छ, जसमा सौर्य हाइब्रिड सडक प्रकाश, दुई हजार ७५० भीड–निगरानी क्यामेरा र २४÷७ एकीकृत कमाण्ड र नियन्त्रण केन्द्र निगरानी समावेश छ ।
पौष पूर्णिमाको शुभ अवसरमा सोमबारदेखि शुरु भएको ४५ दिने महाकुम्भमा भक्तजनको सहयोगका लागि उत्तर प्रदेश प्रहरीले फ्लोटिङ्ग प्रहरी चौकी स्थापना गरेको छ । कार्यक्रमको सुरक्षाका लागि स्थानीय प्रहरी र अर्धसैनिक बलसहित १० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (एनडीआरएफ) ले भक्तहरूको सुरक्षा सुनिश्चित गर्न सङ्गममा एम्बुलेन्स तैनाथ गरेको छ । सम्पूर्ण कार्यक्रममा चिकित्सक र एनडीआरएफ अफिसरहरू सहितको मेडिकल सुविधासहितको एम्बुलेन्सहरू २४÷७ सञ्चालन हुनेछन् ।
(रासस/एएनआई)