एनआरएनएले बैंककमा अन्तर्राष्ट्रिय युवा सम्मेलन गर्ने

काठमाडौँ । डा.बद्री केसी अध्यक्ष रहेको गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन आयोजना गर्ने भएको छ ।
आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै गैर आवासीय नेपाली संघले ‘युवाहरूलाई सशक्तीकरण गर्दै, नेपाली मूलका नेपालीको भविष्यलाई आकार दिँदै’ भन्ने मूल नाराका साथ दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनको आयोजना गर्न लागेको जानकारी दिएको हो ।
सम्मेलन थाइल्यान्डको बैंककमा १५–१६ मार्च २०२५ मा आयोजना गरिनेछ । नेपाली प्रवासी युवाहरूलाई सशक्त बनाई उनीहरूलाई नेपालको समृद्धि र विकाससँग जोड्ने अन्तर्राष्ट्रिय युवा सम्मेलनको मुख्य उद्देश्य रहेको छ ।
सम्मेलनले नेपाली प्रवासी युवा, पिएनओज् र नेपालका स्थानीय युवाहरूबिच मजबुत साझेदारी स्थापना गर्ने, युवामा सशक्तीकरण र नवप्रवर्तनको संस्कृतिलाई प्रेरित गर्नका लागि संघर्ष अनि सफलताका कथा र सिकाइहरूको आदान–प्रदान गर्ने साझा मञ्च प्रदान गर्ने अपेक्षा राखिएको छ ।
सम्मेलनको मूल समारोह समिति युवा उपाध्यक्ष रोशन थापाको संयोजकत्व तथा पिएनओज् विभागका इन्चार्ज तथा उपाध्यक्ष रामशरण सिम्खडाको निर्देशकत्वमा तयारी तीव्र रूपमा अघि बढाइएको छ ।
सम्मेलनले नेपाली प्रवासी युवाहरू र नेपालका स्थानीय युवाहरूबिच मजबुत सम्बन्ध स्थापना गर्दै शिक्षा, रोजगारी र सामुदायिक विकासमा केन्द्रित सहकारी परियोजनाहरू निर्माण गर्न मद्दत पुर्याउने, युवा बेरोजगारी, सीप विकास, र सुरक्षित आप्रवासन जस्ता महत्त्वपूर्ण समस्याहरू समाधान गर्न कार्यक्रम योजना प्रस्तुत गर्ने, सशक्त युवाहरूको नेटवर्क निर्माण गर्न सहयोग पुर्याउने अपेक्षा राखिएको छ ।
यसैबिच १८–१९ मार्च २०२५ मा कम्बोडियाको नोम पेन्ह सिटीमा १० औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनको आयोजना हुँदैछ । यस पटक संघले एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन ‘संगम’ नामकरण गरेको छ ।
उक्त अवसरमा समृद्ध राष्ट्रको लागि गैर आवासीय नेपालीकोहरुको भूमिका, गैर आवासीय नागरिकताको पूर्ण कार्यान्वयन, पिएनओका माग, लगानी, पर्यटन, विदेशमा बस्ने नेपाली विज्ञहरूको राष्ट्र निर्माणमा भूमिका, सामाजिक रूपान्तरणको लागि महिला सशक्तीकरण एवं लैगिंक समानता साथै गैर आवासीय नेपाली अभियानले उठान गरिरहेका मुद्दाहरू खास गरी सम्मानजनक वैदेशिक रोजगारी तथा सामाजिक सुरक्षा कोषमा प्रभावकारी आबद्धता, प्रवासबाट मताधिकार जस्ता महत्त्वपूर्ण कार्यक्रमहरूबारे छलफल र उक्त महादेश भित्रका विभिन्न एनसीसीहरुको सिकाई, अनुभव र आपसी सहकार्यका विषयहरूको पहिचान गर्दै अघि बढ्न सहयोग मिल्ने गरी कार्यक्रम तय गरिएको छ ।
दुवै सम्मेलनमा नेपाल सरकारको प्रतिनिधि तथा सम्बन्धित देशका सरकारी प्रतिनिधि एनआरएनएका संस्थापक अध्यक्षसहित पुर्वअध्यक्षहरु, एनआरएनए अग्रज तथा अभियन्ता एवं एसिया प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधिहरू, युरोप, अमेरिका, ओसियाना, अफ्रिका तथा मध्यपूर्वका देशहरूबाट समेत गरी करिब तीन सय प्रतिनिधीहरुको सहभागिता रहनेछ । विभाजित अवस्थामा रहेको एनआरएनएको केसी पक्षले सम्मेलनहरू गर्न लागेको हो ।