‘हिउँदे अधिवेशन पछि एनआरएनए नागरिकता कार्यान्वयन हुन्छ:’ कानुन मन्त्री

काठमाडौँ/ कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरासियाले संसद्को आगामी (हिउँदे ) अधिवेशनबाटै गैर आवासीय नेपाली नागरिकताको कार्यान्वयनमा रहेका जटिलता सम्बोधन हुने बताएका छन्।
गैर आवासीय नेपाली संघ (एनआरएनए) केसी समूहका अध्यक्ष डा बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा मन्त्री चौरसियाले कामकाज विहीन बनेको एनआरएनए नागरिकतालाई सक्रिय बनाइने बताएको जनाइएको छ ।
संविधानले नै निर्देश गरे अनुसारको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैर आवासीय नेपाली नागरिकताको कार्यान्वयनमा हाल देखा परेका जटिलता सम्बोधन गर्ने गरी संसदमा लैजाने गृहकार्य भइरहेको उनले जानकारी दिएको केसी समूहको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ।
‘गैर आवासीय नेपाली नागरिकताको कार्यान्वयन जतिसक्दो छिटो होस् भनेरै हामी गृहकार्यमा छौँ, यस सम्बन्धमा के कसरी अघि बढ्ने भनेरै गृह मन्त्रालयसहित अन्य सरोकारवाला मन्त्रालयसँग हामीले छलफल गरिरहेका छौँ ।’ मन्त्री चौरासियाले भनेको भन्दै प्रेस नोटमा जनाइएको छ।
यसअघि संघका अध्यक्ष डा बद्री केसीले संविधानको धारा १४ मा प्रष्ट व्यवस्था भएको सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सहितको गैर आवासीय नेपाली नागरिकता प्रदान गर्ने भन्ने भावना अनुसार नागरिकता प्रदान गरिसकिएको भए पनि त्यसको कार्यान्वयन नभएकोले राजनीतिक अधिकार बाहेक सम्पूर्ण अधिकार नेपाली नागरिक सरह नै प्रयोग गर्न पाउने गरी कानुनी प्रक्रिया अघि बढाई दिन अनुरोध गरेको जनाइएको छ।
अध्यक्ष डा केसीले गैर आवासीय नेपाली परिचयपत्र लिएका नेपालीहरूलाई गैर आवासीय नेपाली नागरिक सरह पाउने अधिकारको व्यवस्थाको लागि पहल गरिदिन पनि अनुरोध गरेका थिए। उक्त अवसरमा अध्यक्ष डा केसीले पुस्तौँदेखि विदेशी नागरिक भएर विभिन्न मुलुकमा बसेका नेपाली मूलका व्यक्ति र परिवारलाई नेपाली भएको पहिचान खुल्ने परिचयपत्र सम्बन्धमा पनि ध्यानाकर्षण गराए।
जवाफमा मन्त्री चौरसियाले पुस्तौँदेखि सार्कबाहेकका मुलुकमा बस्दै आएका नेपाली, जसले ती मुलुकमा नेपाल, नेपाली भाषा, र संस्कृतिको जगेर्ना गर्दै आएका छन्, उनीहरूले राख्दै आएको मागबारे सकारात्मक छलफल जनकारी दिएका थिए।
‘उहाँहरूले नेपाली मूलको हुँ भन्ने परिचय माग्दै आउनुभएको छ, त्यस्तो परिचयपत्र दिन आवश्यक पर्ने कानुनी प्रावधानबारे हामी छलफलमा छौँ । र झन्डै एक दर्जन विधेयक संसदमा लैजाने तयारी भइरहेको छ ।’ मन्त्री चौरसियाले भने।
भेटमा संघका तर्फबाट गैर आवासीय नेपाली नागरिकता बहाल व्यक्तिलाई भिसा लिनु नपर्ने र भिसाको म्याद अवधि सकिएकाले पनि थप गरिरहनु नपर्ने विषयका लागि मन्त्रालयमार्फत अध्यागमन विभागद्वारा कार्यान्वयनको लागि पहल गरिदिन आग्रह गरिएको जनाइएको छ।
यस्तै गैर आवासीय नेपाली नागरिकलाई सवारी साधन खरिद र सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि आवश्यक कानुन निर्माणका लागी पहल गरिदिन, नेपाली नागरिक सरह गैर आवासीय नेपाली नागरिकले समेत नेपालमा कम्पनी दर्ता, सञ्चालन, व्यवस्थापन र खारेज गर्न पाउने ब्यहोरा सहित कम्पनी रजिस्ट्रारको कार्यालयलाई परिपत्र गरिदिन, नेपाल सरकारद्वारा जारी गरिएको नेपाली परिचयपत्र लिएका गैर आवासीय नेपालीहरूलाई स्वदेश भित्र हवाई यात्रा गर्दा विदेशी नागरिक सरह व्यवहार गर्ने भएको हुनाले उनीहरूलाई नेपाली नागरिक सरहको हवाई यात्राको सुविधाका लागि कानुनी रूपमा सहजीकरण गरिदिन समेत अनुरोध गरिएको छ ।
जवाफमा मन्त्री चौरसियाले यी सबै विषयवस्तु समेट्ने गरी झन्डै एक दर्जन विधेयक संसदमा लैजाने तयारी भइरहेको बताए।
सो अवसरमा मन्त्रालयका तर्फबाट सचिव उदयराज सापकोटा सहसचिव अरुणा जोशी समेत सहभागी थिए । यस्तै संघका सह कोषाध्यक्ष कृष्ण तिमिल्सेना प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत र सूचना तथा वैदेशिक रोजगार अधिकृत इन्द्रलक्ष्मी घिमिरेको उपस्थिति रहेको जनाइएको छ।