नुवाकोटमा रहेको केन्द्रीय कारागारमा कैदी बन्दी थपिँदै

रामहरि न्यौपाने
त्रिशूली (नुवाकोट) / नुवाकोटमा सञ्चालनमा ल्याइएको केन्द्रीय कारागारमा कैदी बन्दी थप गर्ने क्रम जारी रहेको छ । दोश्रो चरण अन्तरगतका भौतिक संरचना निर्माणको काम पूरा भएसँगै गत भदौ १५ देखि सञ्चालनमा आएको कारागारमा हाल सात सय ५८ जना कैदी बन्दी राखिएको शाखा अधिकृत इन्द्रबहादुर खतिवडाले जानकारी दिए ।
उनका अनुसार जिल्ला कारागार नुवाकोटका एकसय ४८ जना कैदी बन्दी स्थानन्तरण गरेर सञ्चालनमा ल्याइएको थियो । हाल यस आसपासका जिल्लाबाट कैदी ल्याउनेक्रम जारी छ ।
“केन्द्रीय कारागार निर्माणको गुरु योजना अनुरुप एक हजार तीनसय ७० जना कैदी बन्दी अट्ने क्षमताको पहिलो युनिटका संरचनामा क्रमशः कैद ठोकिएका (कैदी)लाई प्रक्रिया पूरा गरेर ल्याउन थालिएको हो ।” शाखा अधिकृत खतिवडाले भने “अबको केही दिनमा पूर्ण क्षमतामा कैदी व्यवस्थापनको लागी आवश्यक पूर्वतयारीलाई अन्तिम चरणमा पुर्याइएको छ ।”
कारागारको भौतिक संरचना (भवन) निर्माण पूरा भएपनि भन्सा (मेस) सञ्चालन, कर्मचारी व्यवस्थापन लगायतका कार्य मिलाई क्रमशः अन्यत्र जिल्लाका कैदी ल्याउनेक्रम जारी छ ।
यहाँको कारागारमा केन्द्रीय कारागार (जगन्नाथदेवल), नख्खु कारागार ललितपुर, डिल्लीबजार कारागार काठमाडौमा रहेका क्षमता भन्दाबढी हुन आउने मध्येका कैदीहरु स्थानन्तरण भइरहेको कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार उपत्यकाको कारागार सहित आसपासका रसुवा, धादिङ, गोरखा लगायतका जिल्लामा रहेका क्षमता भन्दाबढी हुन आउने सङ्ख्याका कैदी ल्याएर पूर्ण क्षमतामा सञ्चालन गरिने छ ।
“नुवाकोटमा बनेको केन्द्रीय कारागारलाई आधुनिक एव्म औद्योगिक कारागारका रुपमा स्थापित गराउन आवश्यक संरचना क्रमशः निर्माण गर्दै अघि बढ्ने सरकारको योजना छ । सोही अनुसार तेश्रो चरणको भौतिक संरचना निर्माण अघि बढाउन गृहकार्य भइरहेको छ ।” महानिर्देशक भट्टराईले भने “देशभर १३ हजार कैदी बन्दी क्षमताको कारागारमा हाल २८ हजार भन्दाबढी रहेकाले नुवाकोटको केन्द्रीय कारागारलाई जतिसक्दो चाडो पूर्णता दिन सरकार प्रतिबद्ध छ ।”
काठमाडौमा रहेको केन्द्रीय कारागारलाई विसं. २०७० साल चैत्र २० मा बसेको मन्त्रिपरिषद् बैठकले नुवाकोटको विदुर नगरपालिका–६ स्थित खम्पाक्याम्पमा स्थानन्तरण गर्ने निर्णय अनुरुप निर्माण गरेको यहाँको कारागारको गुरु योजना अनुरुप पाच चरणमा काम सम्पन्न गर्ने उल्लेख छ ।
सोही अनुरुप पहिलो चरणमा पाचसय ३४ रोपनी सरकारी जग्गा कारागार व्यवस्थापन विभागको नाममा स्वामित्व हस्तान्तरण भएको र दोश्रो चरणमा पहिलो युनिटका लागी चाहिने दशवटा ब्लकमा एक हजार तीनसय ७० जना कैदी बन्दी राख्न भौतिक संरचनाको निर्माण, प्रशासनिक भवन, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा युनिट बस्ने संरचना निर्माण गरिएका छन् ।
केन्द्रीय कारागार निर्माणको ‘गुरु योजना’ अनुरुप तेश्रो चरणको भौतिक संरचना निर्माणको लागी विभाग जुटेको छ । तर, भौतिक संरचना निर्माणका लागी यसअघि लगाएको ठेक्का प्रक्रियामा आर्थिक श्रोतको सुनिश्चित नहुदाँ त्यसका लागी पहल भइरहेको महानिर्देशक भट्टराईले जानकारी दिए ।
गुरु योजना अनुसार सञ्चालनमा आएको कारागारको प्रत्येक ब्लकमा जघन्य अपराधमा संलग्नलाई राख्न एक–एकवटा ‘कालकोठरी’ बनाइएको छ । तर, औद्योगिक कारागारको रुपमा स्थापना गर्ने सरकारको लक्ष्य अनुरुपका अन्य संरचना भने बनाउन बाँकी छ ।
“औद्योगिक, आधुनिक एवम् नमूना कारागाराको रुपमा स्थापना गर्ने सरकारको लक्ष्य अनुसार नुवाकोटको कारागारलाई सुविधा सम्पन्न बनाउन थप चरणका काम अघि बढाउन बजेट व्यवस्थापनको पखाईमा छौ ।” उनले भने “खेल मैदान, योगकेन्द्र, अस्पताल, विद्यालय एवम् क्याम्पस, पुस्तकालय, सीप प्रबद्र्धन केन्द्र, किरियापुत्री कक्ष सहितका सुविधा अब बन्ने नयाँ संरचनामा समावेश गरिने छ ।”
कारागारका लागी आवश्यक भौतिक संरचनाको निर्माण र व्यवस्थापन केन्द्रीय सरकार मार्फत सञ्चालन गरिने छ भने सिप प्रबद्र्धन सहितका कार्यक्रममा प्रदेस सरकारको सहभागिता जुटाउन थालिएको छ । यस्तै, ढल प्रशोधन र बायोग्याँस प्लान्ट सञ्चालन र व्यवस्थापन सहितका कार्यमा स्थानीय सरकारको साझेदारी खोजिएको छ ।
सोही अनुरुप अन्तिम एवम् पाचौ चरणमा रहेको ढल प्रशोधन गरेर बायोग्याँस प्लान्ट बनाउने योजनालाई विदुर नगरपालिकाले अघि बढाउन सुरु गरेको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए । उनका अनुसार संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको लगानीमा काम अघि बढाउन लागिएको हो । उक्त कार्यका लागी हालै कारागारको नाममा रहेको ३० रोपनी जग्गा उपभोग गर्न समझदारी गरिएको छ ।
रासस