पेन्सिल्भेनियाको ल्यानक्यास्टरमा मनाइयो तमु ल्होसार, नयाँ पुस्ता उत्साहित

ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनिया राज्यको ल्यानक्यास्टरमा तमु ल्होसार शनिवार सामूहिक रूपमा मनाइएको छ।
ल्यानक्यास्टर गुरुङ कम्युनिटी अफ पेन्सिल्भेनियाको आयोजनामा ल्यानक्यास्टरमा पहिलो पटक सामूहिक र बृहत् रूपमा तमु ल्होसार मनाइएको हो।
तमु ल्होसार आयोजक तथा सङ्गीतकर्मी सबीर गुरुङका अनुसार ल्यानक्यास्टरमा दुई दर्जन भन्दा धेरै गुरुङ समुदायको बसोबास रहेको छ।
‘अघिल्ला वर्षहरूमा हामीले घर घरमा र आपसमा मात्र तमु ल्होसार मनाउने गरेका थियौ, यस पटक बृहत् रूपमा नै कार्यक्रम गर्यौ ।’ सबीरले समाज टाइम्स सँग भने।
लिटिजमा रहेको अत्याधुनिक हलमा आयोजित ल्होसारमा नि शुल्क भोजन सहित नाचगान गरेर रमाइलो गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि स्थानीय समाजसेवी खगेन्द्र मिश्रले ल्होसारको शुभ कामना दिएका थिए।
विषेश गरी अमेरिकामा नै जन्मिएका बालबालिकाहरूले परम्परागत भेष भूषामा नेपाली भाषा तथा गुरुङ भाषाका गीतमा नृत्य गरेका थिए।
कार्यक्रममा सबीर गुरुङले उद्घोषण गरेका थिए। उनैले आफना छोरीहरू जोया र सुहाना तथा भतिजी एन्जीलिका सँगै लाइभ म्युजिक प्रस्तुत गरेका थिए। सबीर प्रसिद्ध बाँसुरी बाधक हुन्। उनले आफ्ना छोरी र भतिजीहरूलाई पनि नेपाली सङ्गीतको दीक्षा दिएका छन्।
कार्यक्रममा अमेरिकामा जन्मिएकी पाँच वर्षिया बालिका श्रीजल खनालले नेपाली भेषभुषा सजिएर नेपाली गीतमा नृत्य प्रस्तुत गरेकी थिइन्।
श्रीजल बाबा भूपाल खनाल र आमा श्रीमाया गुरुङ खनाल सँग पेन्सिल्भेनियाको चेम्वर्सबर्गमा बस्दै आएकी छिन्।
श्रीजलका अभिभावकका अनुसार उनले टेलिभिजनमा हेरेरै नेपाली नृत्य सिकेकी हुन्। उनी नेपाली भाषा पनि बोल्छिन्।