टाटा सुमोले घरमा ठक्कर दिँदा क्षति

चपुर । रौतहटको चन्द्रपुर नगरपालिका वडा न ८ सन्तपुरमा टाटा सुमोले घरमा ठक्कर दिँदा क्षति पुगेको छ । सडकमा गुडी रहेको ना१ज २०८२ नम्बरको शिखरापुर टाटा सुमो अनियन्त्रित भएर घरमा छिर्न पुगेको हो ।
चन्द्रनिगाहपुर गौर सडक भन्दा ३० मिटर पर रहेको दिनेश सापकोटाको घर भित्र सुमो छिरेको स्थानीयले बताएका छन् । घरको आँगनमा रहेकाहरूले भागेर ज्यान जोगाउन सफल भएको स्थानीय जनकराज भारतीले बताए । उनका अनुसार सो समयमा दिनेशका आमा, श्रीमती, छोराछोरी, भाउजू र भतिजी आँगनमै बसिरहेका थिए ।
अचानक सुमो आएको थाहा पाउने बित्तिकै घरका परिवारका सदस्य भागेका कारण मानवीय क्षति नभएको उनको भनाइ छ । तर घरको गारो भत्किएकाले क्षति भने भएको उनले बताए । प्रत्यक्षदर्शीका अनुसार टाटा सुमो चालकले मादक पदार्थ सेवन गरेकाले यो घटना भएको हो ।
यो घटना शनिवार दिउसो अन्दाजी ५ बजेको समयमा भएको स्थानीय बताउँछन् । चन्द्रनिगाहपुरबाट कटहरिया तर्फ जाँदै गरेको अवस्थामा टाटा सुमो अनियन्त्रित भएर घरमा छिर्न पुगेको जनाइएको छ ।
मापसे गरी लापरबाही गरी सवारी चलाउने चालकलाई हदैसम्मको कारबाही र पीडितलाई क्षतिपूर्ति दिनु पर्ने स्थानीयले माग गरेका छन् ।