‘सबै भ्रष्ट्राचारको काण्डहरूको बारेमा छानबिन गर्न शक्तिशाली आयोग गठन गरौँ’ : गगन थापा

काठमाडौँ/ नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले नेपालमा सबै भ्रष्ट्राचारको काण्डहरूको बारेमा अनुसन्धान गर्न शक्तिशाली आयोग गठन गर्न माग गरेका छन्।
बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले एकले अर्कोलाई आरोप लगाउन खुइल्याउन भ्रष्ट्राचारको आरोप लाग्ने गरेको भन्दै उनले अब त्यसलाई छानबिन गरेर टुङ्गाउनु पर्ने बताए।
महामन्त्री थापाले प्रधानमन्त्री केपी शर्मा ओली,पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र अर्का पूर्वप्रधानमन्त्री प्रचण्डको उपस्थितिमा भ्रष्टाचारको फाइल टुङ्गो लगाउनुपर्ने बताए ।
फाइल खोल्दिन्छु भनेको सुन्दा सुन्दा नागरिक नै आजित भएको अवस्था रहेको भन्दै उनले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नै तीन जनालाई बोलाएर कुन–कुन काण्डको फाइल खोल्ने हो टुङ्गो लगाउन सुझाव दिए ।
उनले भने, ‘यहाँ पूर्वप्रधानमन्त्री आजको बैठकमा आउनुभएको छ । अर्को पूर्वप्रधानमन्त्री अर्को समितिमा आइराख्नुभएको छ । बरु अर्को एक जना पूर्वप्रभानमन्त्रीलाई चाहिँ आमन्त्रित गरेर भएता पनि यही समितिमा बसेर छलफल गरौँ । भ्रष्टाचारको कुन–कुन काण्डको फाइल खोल्ने हो टुङ्गो लगाऊँ । फाइल खोल्दिन्छु भनेको सुन्दा सुन्दा नागरिक नै आजित भएको अवस्था छ ।’