एक सय वर्षको उमेरमा अस्ताए अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टर

पेन्सिल्भेनिया/ अमेरिकाका ३९ औँ राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा आइतबार निधन भएको छ।
उनको जर्जियाको प्लेन्स स्थित आफ्नै घरमा निधन भएको हो। कार्टरले केही महिना यता परिवारसँग नै समय बिताउँदै आएका थिए।
गत वर्ष फेब्रुअरीमा उनको स्वास्थ्यलाई लिएर गम्भीर घोषणा पछि उनले परिवारसँग आफ्नो बाँकी समय बिताउने निर्णय गरेका थिए।
कार्टर अक्टोबर १, १९२४ मा जन्मेका हुन्।
सन् १९७७ देखि १९८१सम्म राष्ट्रपति भएका कार्टर १०० वर्ष बाच्ने अमेरिकाको पहिलो राष्ट्रपति समेत हुन्।
राजनीतिमा प्रवेश गर्नु अघि उनी सामान्य किसान तथा अमेरिकी जल सेनाका लेफ्टिनेन्ट थिए। यसअघि उनकी श्रीमती रोसलायन कार्टरको सन् २०२३ नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो।
कार्टरको निधनमा राष्ट्रपति जो बाइडेनले शोक व्यक्त गर्दै संसारले एक “असाधारण नेता, राजनीतिज्ञ र मानवतावादी” गुमाएको छ भनेका छन्।
यस्तै उनले एक प्रिय साथी गुमाएको पनि शोक सन्देशमा उल्लेख गरेका छन् । बाइडेनले कार्टरको करुणा र नैतिक स्पष्टता, रोग उन्मूलन, शान्ति स्थापना, नागरिक र मानवअधिकारलाई अगाडि बढाउन, स्वतन्त्र र निष्पक्ष चुनावको प्रवर्द्धन, घरबारविहीनहरूको लागि घर र वकालत गर्ने कामलाई अरूको लागि उदाहरणको रूपमा उद्धृत गरेका छन्।
“यस राष्ट्रका सबै युवाहरूका लागि र उद्देश्य र अर्थको जीवन जिउनुको अर्थ के खोजिरहेका सबैका लागि – राम्रो जीवन – सिद्धान्त, विश्वास र विनम्रताका व्यक्ति जिमी कार्टरको अध्ययन गर्नुहोस्,” बाइडेनले भनेका छन्।
“उहाँले देखाउनुभयो कि हामी एक महान् राष्ट्र हौँ किनभने हामी असल मानिसहरू हौँ – सभ्य र सम्मानजनक, साहसी र दयालु, नम्र र बलियो।” बाइडेनले भनेका छन्।
बाइडेनले वाशिंगटनमा कार्टरको राजकीय अन्त्येष्टिको आदेश दिइरहेको पनि उल्लेख गरेका छन्।