भुटान : “राष्ट्रिय खुसीयालीले दबाएको जनताको आँसु”

विष्णु लुइँटेल/ पेन्सिलभेनिया, ह्यारिसबर्ग/
“धान रोप्नु छुपूँ छुपूँ असारे हिलैमा,
बाचुन्जेल चेम्गाङ्ग जेलमा, मरे त चार किलोमा।”
चेम्गाङ्ग जेलमा कैदीले गाउने गीत हो,यो । ४ किलो सिम्तोखातिर झर्ने खोलाको एउटा श्मशान घाटको नाम । भुटानको तानाशाही शासकले सन् १९९० को दशकमा प्रजातान्त्रिक आन्दोलनको दमन गऱ्यो । आफ्नो हक अधिकारका निम्ति आवाज उठाउने निहत्था नागरिकहरूलाई जेलमा कोचेर अमानवीय यातना दियो । माथि उल्लेख गरिएका गीतका हरफहरू जेलभित्र थुनिएका मानिसहरूलाई खाना खुवाउन निकाल्दा गाउन लगाइन्थ्यो। यो गीत भुटानको जेलमा थुनिएका राजबन्दीहरूलाई मानसिक यातना दिनका लागि भुटानी शासकले रचेको हो । त्यहाँ राजबन्दीहरूलाई अमानवीय व्यवहार गर्नुका साथै पाशविक यातना पनि दिइन्छ । यातनाका क्रममा कोही मरिहाले भने त्यही चार किलो भन्ने स्थानमा लगेर फ्याँकिन्छ । त्यो चार किलो विशेष गरी जेलभित्र यातना क्रममा मारिएका मानिसहरू फ्याँक्ने स्थान हो र हो त्यस गाउँको मसानघाट पनि ।
सन् ९० देखि अहिलेसम्म राजबन्दीहरूलाई कठोर यातना दिने प्रचलन यथावत् छ । ३०औँ वर्षसम्मको बर्बरताबाट बाँचेर जेलमुक्त भएका राजबन्दीहरूले भोग्नु परेका गम्भीर उत्पीडन र ज्यादतीहरूलाई यस लेखमा समावेश गर्ने प्रयास गरेको छु । यस घटनाको स्रोत निकै लामो समय चेम्गाङ्ग जेलको चरम यातनाबाट भाग्यवश बाँचेर घर फर्किएका यातनापीडित राजबन्दीहरू हुन । सुरक्षाको कारण उनको नाम उल्लेख गरिएको छैन । नाम उल्लेख नगर्ने सर्तमा अश्रुपूर्ण वेदना शब्दबद्ध गरिएको हो । चेम्गाङ्ग जेलका राजबन्दीहरूलाई कति गम्भीर र चरम यातना दिने गरिएको थियो भन्ने ती कैदीले मलाई बताएका हुन् ।
जेलबाट छुटेर अहिले दिनरात रोइरहेका ती राजबन्दीले ज्यादतीको बखान गर्दै भने ‘-कैदीले खाना खाने चामलमा जहिल्यै एक बेल्चा माटो बालुवासरिको खरानी चामलमा मिसाएर धोएजस्तो गरिन्थ्यो । अनि त्यही अङ्गार,बालुवा र माटोसरिको चामल पकाएर बन्दीहरूलाई खान दबाब दिइन्थ्यो ।’ भुटान सरकारले वर्षौँसम्म निरन्तर रूपमा राजबन्दीहरूप्रति गर्दै आएको अमानवीय र हिंस्रक कार्यको श्रृखला हो,यो । उनले भावुक हुँदै अगाडि थपे‘ तरकारी पनि आलु र मुला दुई फ्याक पारेर पकाइएको हुन्थ्यो । त्यो पनि नपखाली । फ्याक गरिएको आलु र मुला एउटा खिया परेको बाक्लो टिनमा हालेर पकाइन्थ्यो । बन्दीहरूको सङ्ख्याको आधारमा पाइपबाट सिद्धै टिनमा पानी भरिन्थ्यो । अनि त्यसमा नुन मात्र हाल्थ्यो । पकाएको भन्नु मात्र । उसिनेको तरकारी खुवाउने गरिन्थ्यो । आलु र मुलामा टाँसिएको माटो र फोहोरले तरकारी धमिलो देखिन्थ्यो । त्यो त्यतिकै दुर्गन्धित पनि हुन्थ्यो । सायद माटो र फोहोर नमिसाइको भए बीस/पच्चीस किल्लो पानी सङ्ग्लै देखिने थियो होला ।’
यस्तो खाना मानव जातिको स्वास्थ्यका लागि कति हानिकारक थियो होला ? त्यो अन्तर्राष्ट्रिय जगतले जान्ने विषय हो । यसरी भान्सा र तरकारीका नाममा बन्दीहरूलाई खुवाइने फोहरको डङ्गुरप्रति रेडक्रस सोसाइटी र मानव अधिकारवादीहरू कतिको जानकार होलान् । यो अनुसन्धानको छुट्टै पाटो छ ।
हावापानी वा मौसमको दृष्टिले चेम्गाङ्ग अत्यन्तै चिसो अनि हिउँ झर्ने स्थान हो । त्यो क्षेत्र समुन्द्र सतहबाट २६ सय चालीस मिटर जत्ति उचाइमा अवस्थित छ । त्यस्तो कठोर चिसो ठाउँमा सन् १९९१ सम्ममा त्यस स्थानमा एउटै पनि जेल वा बन्दी गृहहरू थिएनन् । त्यहाँ थियो, तीनतिर माटोको बाक्लो दिवाल भएको र एका पट्टी खुल्ला भएको गुफा हो वा ओडार । त्यसको खुल्ला भागतिर चार-चार इन्चको फरकमा काडेतारले बारेको बेरा । त्यस ओडार जस्तो लाग्ने जेलको छानो र भुईँ भने माटोको थियो । बन्दीहरूका अनुसार त्यो बन्दी गृह पहिला हेलेला गाउँका एक जना गप (मण्डल) को घर थियो रे । त्यस्तो चिसो ठाउँको घरमा न पक्की छानु नै थियो । न केही ओछ्याएको भुईँ नै । हावासम्म नछेकिने त्यस्तो भुतबङ्गलामा कोचेर कैदीहरूलाई विभिन्न प्रकारले शारीरिक र मानसिक यातना दिने गरिन्थ्यो ।
त्यति मात्र कहाँ हो र । अत्याचारको बखान गरी साध्य छैन । हिउँदे याममा बन्दीहरूले दैनिक जसो हिउँमा लडीबडी गर्नुपर्ने । लडीबडी गरेको बेला मान्छे लडेको हो वा हिउँको डङ्गुर छुट्याउनै नसकिने । लडीबडीमा ढिला सुस्ती गऱ्यो भने आर्मीको बुट छातीमा बजारिने । लात्तीले हानेर हिउँले पाखोमा पल्टाइदिएर रमिता हेर्ने । धेरै बेरसम्म चिसोमा लडीबडी गर्नुपर्दा हात गोडा कठ्याङ्ग्रिएर चल्नै नसक्ने स्थिति हुन्थ्यो । आर्मीको हातमा हुन्थ्यो कैदीको सातो । जे भन्छ त्यही मान्नुपर्ने । हिउँको मनोरञ्जन सकिएपछि एक आपसमा हिउँ झार्न लगाउँथ्यो । शरीरबाट हिउँ झारिसके पछि कैदीलाई एउटा ग्वालीमा लान्थ्यो । अनि आर्मीले दुई हात बाँध्यो र एक-एक गरी बोरामा हाल्थ्यो । उँधो मुन्टो बनाएर त्यो बोरा माथिको एउटा बलोमा झुन्ड्याएर यातना दिन्थ्यो ।
यतिसम्म कि बोरामा हालेर उँधो मुन्टो गरी झुन्ड्याएका प्रत्येक कैदीका टाउका मुनि कराइमा रापिलो भुङ्ग्रो राखिन्थ्यो । अनि त्यस भुङ्ग्रोमा खोर्सानीको धुलो हाली बन्दीहरूलाई खोर्सानीको कठोर धुवा लगाइन्थ्यो । लगभग होस् घुमाउने स्थितिमा पुगे है भनेपछिमात्र बोरा फुकाएर भुईँमा झारिन्थ्यो । अनि बन्दीलाई बोराबाट निकालेर उनीहरूको कोठामा कुट्दै र घोक्र्याउँदै लगिन्थ्यो । यो क्रम दैनिक चल्थ्यो । खोर्सानीको धुवाँ सुँघे पछि मात्र फोहोर सरीको खाना खाने अनुमति मिल्थ्यो । आराम र फुर्सत भन्ने न शब्द नै थियो न व्यवहार । खाना खाने बित्तिकै नेल बजाउँदै काममा ज्योतिनुपर्थ्यो । बाहिर ठुल्ठुला जेलका भवन निर्माणको कार्य सुरु गरिएको थियो । दैनिक तिनै भवन निर्माणका लागि नेल बजाउँदै लगिन्थ्यो ।
बन्दीहरूले ढुङ्गा फुटाउने, गिट्टी कुट्नुका साथै सिमेन्ट र बालुवाका बोरा पिठ्युँमा बोक्नु पर्थ्यो । दैनिक १४० बोरासम्मको सिमेन्ट र बालुवा मुछेर मसला बनाउनु पर्थ्यो । त्यति नगरे बन्दीहरूले थप शारीरिक यातना भोग्नुपर्दथ्यो । काम गर्ने बन्दीहरूको खुट्टामा फलामे नेल लगाइएको हुन्थ्यो । नेलदेखि बाँधेको फलामे साङ्लो कैदीको कम्मरमा लगेर कसिएको हुन्थ्यो । काम गरुन्जेल हतकडी खोलिदिन्थ्यो । काम सक्ने बित्तिकै पुनः हतकडी लगाएर ल्याउने लाने गरिन्थ्यो । पाँच किल्लो बराबरको फलामको नेल लगाएरै काम गर्नुपर्थ्यो । अब आफै अनुमान लगाउनु होस कि एक दिनमा १४० बोरा सिमेन्टको मसला बनाउन कति जना कामदारको जरुरत पर्छ र कति बोरा बालुवा चाहिन्छ ?
वर्तमान भुटानको चेम्गाङ्ग जेल एउटा सामान्य जेल होइन । नागरिकको रगत र पसिना चुस्ने हिट्लरी शैलीको ग्यास चेम्बर हो । त्यसको निर्माण ९० को दशकमा राष्ट्र द्रोहको अभियोगमा गिरफ्तार गरिएका राजबन्दीले गरेको हो । १९९० -९३को बिचमा ३ सय ह्लोच्छाम्पा र पूर्वी भुटानी कैदीहरूले त्यो ग्यास चेम्बर बनाएको हो ।
हेलेला भन्ने गाउँमा बनेको त्यस जेलमा जम्मा तीन युनिट रहेको बताइन्छ । पहिलो युनिटमा सत्र वटा कोठाहरू छन् । त्यसै गरी युनिट दुई र तीनमा जम्मा उन्नाइस-उन्नाईस कोठाहरू कैदीबन्दीहरुका लागि बनाएका छन् । साथै थप भिजिटर रुम ,डिउटी रुम र पुस्तकालय कोठा पनि बनाइएको छ । बन्दी गृह निर्माणको कामबाहेक राजबन्दीहरूले हेलेला गाउँका ब्रोक्पा जातिका बालबालिकाहरूका लागि एउटा प्राथमिक विद्यालयको भवन समेत निर्माण गर्न लगाएको ती कैदीले बताए ।
धन्न भगवानले हाम्रो पुकार सुनेछन् क्यार । अचानक कैदीप्रति गरिने व्यवहारमा एकाएक परिवर्तन भयो । सन् १९९३ को जनवरी महिना हो । तर तारेख चाहिँ ठ्याक्कै यकिन भएन । दोस्रो साता जस्तो लाग्छ । त्यस दिन बिहानै केही पुलिसका हाकिमहरू बन्दी कोठामा आए । अनि हाम्रो हात, खुट्टामा लगाएका फलामे हथ्कडी र नेलहरू फटाफट काटेर खोल्न थाले । त्यस बेला नयाँ बन्दी गृह पनि लगभग निर्माण भइसकेको थियो ।
हामीलाई त्यही नयाँ निर्मित बन्दी गृहमा सरुवा गरियो । त्यहाँ सार्नुभन्दा पहिला पुलिसहरूले हाम्रो हात र खुट्टाका हतकडी र नेलहरू खोलिदिए । अचानक किन यसो गरेका हुन् हामीलाई थाह भएन । ३ सय कैदीका हतकडी र नेलहरू फुकालेर बोरामा लगाइयो । बोराको मुख सिलाई गर्न लगाए । नेल र हतकडीले १७ वटा बोरा भरिएको थियो । एउटा ट्रकमा लोड गर्न लगाइयो । त्यहाँबाट कता लगियो त्यो थाहा भएन । “ भाग्यवश त्यही दिनबाट खरानी मिसावट नगरेको खाना खान पाइयो।
हामीलाई राखेको कोठा सफा गर्न लगायो । पुराना लुगा फ्याँकेर नयाँ लुगा लगाउनु भन्यो । हिउँमा लडीबडी गर्ने र खोर्सानीको धुवा लगाउने दैनिकी पनि बन्द भयो । हामीलाई तीन दिन पछि मात्र थाह भयो कि “इन्टरनेसनल रेडक्रस सोसाइटी”को टिम जेल निरीक्षणको लागि आउँदै छ भन्ने । अचानक ग्यास च्येम्बरमा आएको परिवर्तन रेडक्रसको कारणले रहेछ भन्ने लाग्यो । अब पक्कै पनि बाँचिनेछ भनेर हामी औधी खुसी भयौँ । जम्मा ३१८ जना राजबन्दीहरू त्यस भवनमा थियौँ । तेस्रो दिन दिउसो केही नयाँ मानिसहरूको आगमन भयो । नयाँ आगन्तुक थिए अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीका कर्मचारीहरू । उनीहरूले जेलको बसाइ,खाना-पिन, सरसफाइ सेनाको व्यवहार बारे सोधे । हामीले पनि कहाली लाग्दा यातना, उत्पीडन र बर्बरताको घटनाहरू खुलेर भन्ने अवसर पायौ । रेडक्रसले सबै कैदीलाई अब त्यस्तो यातना भोग्नुपर्ने छैन भन्दै सहानुभूति दर्शायो । सबैलाई ( ICRC , International Committee of the Red-cross)को परिचय पत्र पनि दियो । तर दुर्भाग्य रेडक्रसले दिएको त्यो परिचय पत्र पनि जेलबाट छुटेका दिन पुलिसले खोसेर लग्यो । मसँग अहिले न परिचय पत्र नै छ न सरकारले दिएको नागरिकता नै’ भन्ने उनले दुखेसो गरे ।
‘रेडक्रसको निरीक्षण पछि जेलका हरेक कुरामा परिवर्तन भयो । रासन पानी दिन थाल्यो । खाना आफैँ बनाएर खान थाल्यौ । हात र खुट्टामा फलामे साङ्ला लाउनुपरेन । परिवारसँग भेटघाट गर्ने अवसर मिल्यो । चोर-डाँका,ज्यानमारा, बलात्कारी जस्ता अपराधजन्य घटनामा सम्लग्न कैदीहरूसँग एउटै कोठामा हामी राजबन्दीहरूले बस्नुपरेन । पहिलो पटक अदालतमा बयान दिने क्रम पनि सुरु भयो,रेडक्रस सोसाइटीको भ्रमण पछि । धन्न भगवान् दाहिना भएछन् । रेडक्रसका रूपमा भगवान् नै आए जस्तो भयो हामीलाई । सायद रेडक्रसको आगमन समय मै भएकाले नै हाम्रो ज्यान बच्यो । नत्र हाम्रो जीवन लीला त्यही ग्यास चेम्बरमा अन्त हुने निश्चित थियो ।’लामो सास तान्दै एक कैदीले भने ।
यसरी आफ्ना नागरिकहरूलाई जेल,नेल र वर्षौँसम्म यातना दिएर पनि भुटानको क्रूर सरकारलाई चित्त बुझेको देखिँदैन । विना कारण वर्षौँसम्म जेलको कठोर यातना खेपेर जेलबाट रिहा गरिएता पनि कतिपय कैदीहरूलाई भुटानको माटोमा पाइलो पनि टेक्न नदिई देश निकाला गरिन्छ । पुलिस लगाएर बोडर कटाउने शृङ्खला अहिले पनि जारी छ । भुटान भित्रै परिवार हुने र जेलबाट रिहा भएका कैदीहरूले देशभित्रै बस्न पाए भने पनि जग्गाजमिनको स्वामित्व उनीहरूसँग छैन । कुनै पनि अचल सम्पत्ति आफ्नू नाममा सार्न सकिँदैन । कतै जाने र आउने अनुमति छैन । नागरिकता, पासपोर्ट र भिषा जफत गरिएको छ । जेलबाट मुक्त भए पनि गाउँमै कैदी भएर बाँच्न बाध्य पारिएको छ । त्यो पनि नमरुन्जेलसम्म । यो कस्तो विडम्बना हो । कहिलेसम्म यो सास्ती भोग्नुपर्ने तिनीहरूले ।
९०को दशकदेखि आजपर्यन्त नागरिकहरूमाथि त्यही बर्बरता कायम छ । प्रजातन्त्र र संसारकै खुसीयालीको देश भनेर आफूलाई स्थापित गर्ने प्रयास गरे पनि अन्ततः भुटानको शासक मगन्ते, नालायक र नागरिकहरूको आँसु र रगतमा होली खेल्ने हिट्लहरी ताना शाहीको रूपमा नाङ्गिँदै गएको छ । यति मात्र कहाँ हो र । चेम्गाङ्ग जेलको कठोर यातनाको कारण सत्यनारायण बिहारी लगायत अरू कति जना बन्दीहरू मारिए । कठोर यातना दिएर मारिएका बिहारी लगायतालाई चेम्गाङ्गको त्यही ४ किलो भन्ने मशानघाटमा फ्याँकिएको ती कैदीले बताए । सत्यनारायण बिहारीलाई नामलाङ भन्ने गाउँबाट भुटानी सेनाले गिरफ्तार गरी चेम्गाङ्ग जेल लगेको थियो । मारिएका ती निर्दोष मानिसहरूको लास अहिलेसम्म परिवारजनले पाएका छैनन् । यातनाका श्रृखलाहरु यति मात्रमा सीमित रहेका होइन ।
साम्ड्रुकजोङ्खर ,दागापेला,सरभाङ्ग,गेलेफु , चिराङ्ग टासिगाङ्ग सबै जेलहरूको यातना पनि कम दर्दनाक छैन । यी जेलहरूमा पनि कत्ति बन्दीहरूको ज्यान आर्मीले लियो । न्याउली, दालिम ब्लकका मण्डल भक्त बहादुर पोखरेललाई १९९१ मा उनको घरबाट आर्मीले पक्रिएर लग्यो । धान पेल्ने मिसिनको फिताले काटीकुटी मारेर चर्पीमा फ्याँकेर सेनाले झाडा-पिसाब गरेको दर्दनाक घटनाहरू हाम्रो मनमा शूल भएर बसेका छन् । पोखरेललाई त्यसरी काटीकुटी गुप सोनामले मारेका हुन् । उनी राजा जिग्मीका सम्बन्धी मात्र होइन सहपाठी पनि हुन् । हतियार गुप सोनामलाई कति वर्षको जेल सजाय दिए त राजा जिग्मीले ? भन्दै उनले राजालाई प्रतिप्रश्न गरे ।
यस्ता असंख्या घटनाहरू भएका छन् जुन बिस्तारै बाहिर निस्कँदै छन् । यातनाका तौर तरिका पनि एउटै छैनन् । नयाँ – नयाँ र कहाली लाग्दा छन् । कहिले सिगरेट सल्काइ सकेपछि सलाईका काटीले बन्दीका नाडीमा आगो झोसिदिनु । कपालमा अँठ्याएर बन्दीका मुखमा सिगरेटको धुवा सहित खकारेर थुक्नु । त्यतिले मात्र पुग्दैन थियो । धुवाउँदै गरेको सिगरेटको आगो बन्दीका अनुहारमा दलेर निभाउनु । तिर्खा लाग्यो भन्दा आँ गर भनेर आर्मीले मुखमा पिसाप गर्नु जस्ता पाशविक यातनाको प्रयोग गरिन्थ्यो । यो त सानु उदाहरण मात्र हो । कह्यॏलाई मारियो ।कतिलाई लापता गरिएको र कतिको अङ्गभङ्ग गरियो । सवा लाख भन्दा माथिको सङ्ख्यामा भुटानीहरूको सर्वस्व हरण गरियो र देशबाट लखेटियो । यसको कुनै लेखा जोखा छैन । खोज खबर छैन । नाकै मुनिको छिमेकी विश्वकै ठुलो प्रजातान्त्रिक देश भारतले सुनेकोनसुनै गर्यो । अन्तर्राष्ट्रिय संघसंस्थाहरूले पनि खुलेर सहयोग गर्नुको सट्टा किन हो किन मौन रहे । १९९० को त्यो भुटान सरकारले मानवअधिकारका पक्षधर नागरिकहरूमाथि गरेको बर्बरता पूर्ण अपराधको निष्पक्ष छानबिन न राज्यले नै गऱ्यो न कुनै अन्तर्राष्ट्रिय स्तरबाट नै भयो । नागरिकप्रति गरिएका ती अमानवीय अपराधहरू राजा जिग्मी सिङ्गी कै निर्देशन र उक्साहटमा भएको ती कैदीको आरोप छ । किन भने राजाको आदेशविना भुटानमा सेना र प्रहरी मात्र होइन रूखको पातसमेत हल्लिँदैन । ९० को दशकमा मच्चाएको राज्यातङ्क, लाखौ नागरिकहरूको सर्वस्व हरण गरी देश निष्कासन , गोली ठोकी मारिएका शहीदहरू र कुटेर अङ्गभङ्ग गरिएका हजारौ मानिसहरूको जवाफ राजा जिग्मीले दिनै पर्छ ।
निर्बल र निहत्था जनतामाथि सेना प्रयोग गरेर विजय भएको नठाने हुन्छ । समय तिम्रो सेनाभन्दा बलियो र शक्तिशाली छ । समयको प्रहारलाई तिम्रो सेनाले कदापि रोक्न सक्ने छैन । जनताको रगत आँसुलाई राष्ट्रिय खुसीयाली र माइनफुल्नेस सिटीको परियोजनाको लेपन लगाउन प्रयास नगरे हुन्छ । पीडित जनता र शहीदहरूका आँसु र रगतले एक दिन तिम्रो सिंहासन अवश्य बगाउनेछ । त्यति बेला तिमीसँग न सेना हुनेछ र न कुनै भारदार । तिमीलाई एक्लै छोडेर भाग्नेछन् । सिरिया, श्रीलङ्का र तिम्रै नजिकको छिमेकी बङ्गलादेशको बद्लिँदो स्थितिलाई हेर । समय रहँदै सोच । कसैलाई पाखा र कसैलाई काख गर्ने सौतेलो व्यवहार गर्न छोड । ३३ वर्षदेखि देश फिर्तीको प्रतीक्षामा रहेका देशभक्त नागरिकलाई ससम्मान फर्काएर लैजानु नै तिम्रो हितमा छ । शरणार्थी समस्याको समाधान नभएसम्म न तिमीलाई शान्ति हुन्छ न तिम्रो अनुहारमा पोतिएको त्यो कालो दाग त्यतिकै मेटिएर जानेछ ।
जेलमा कैदीहरूले गाउने गरेको कारुणिक अर्को गीतको अर्को हरफ –
“झ्यालमा बसी नहेर आमा म चाँडै आउनेछु,
छाला र हड्डी दाडीको पट्टी म चिनो ल्याउने छु ।”
र यो पनि…